Logo

Class 12 Nepali

class 12science

Class 12 Nepali Chapter Wise Questions

Past NEB exam questions for Nepali, organised chapter by chapter with solutions.

Asked on 2081 Exam
3.

(क) दिएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:

        नयाँ संविधान जारी भएपछि त्यसअनुसार पुराना ऐन पनि फटाफट संशोधन हुँदै छन्। कानुनी राज र विधिको शासन भएन भने शासनप्रतिको जनताको विश्वास ह्वात्तै घट्छ।

(ख) दिएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:

कोरोना जस्तो भाइरसको आक्रमणमा परी कयौँ मान्छेले जिब्रो टोकेपछि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैँ हामी सामान्य ज्वरो र रुघाखोकीमा पनि तर्सिने भइसकेका छौँ। हुन त कोरोनाले ग्रस्त बनाएकालाई आफू नमरी स्वर्ग देखिँदैन भने जस्तै विश्वास नहोला तर पनि महामारी र सङ्क्रामक रोगका बारेमा सबैले कान ठाडो पार्नु नै पर्छ।

[2]
Asked on 2081 Exam
6.

(क) दिएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

नेपालको संविधानले हामी सबै नागरिकलाई बोल्ने स्वतन्त्रता प्रदान गरेको छ । जनताले सुयोग्य प्रतिनिधि छानेर मत दिने अधिकारको व्यवस्था गरेको छ । संविधानमा नागरिकका मौलिक हकको संरक्षणको कानुनी दायित्व राज्यलाई दिइएको छ ।

(ख) दिएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

ससाना बालबालिकाले आफ्नो कर्तव्य पूरा गरेका छन् । ठुल्ठुला महर्षि पनि वनबास गएर चित्तशुद्धिमा रमाएका छन् । हरदिन लोभलालचमा फस्ने मानिसले समाजमा घरैघर ठड्याएर झैझगडा निम्त्याएको भेटिन्छ ।

[3]
Asked on 2081 Exam
10.

लोकतन्त्र र मानव अधिकार एउटै सिक्काका दुईओटा पाटा हुन् । मानव अधिकार नभएको लोकतन्त्र अपाङ्ग हुन्छ भने लोकतन्त्र नभएको मानव अधिकार फोस्रो नारा मात्र हुन्छ । मानवले मानव अधिकार केवल लोकतान्त्रिक शासन व्यवस्थामा मात्रै पाउन सक्छन् । मानव अधिकारको प्रत्याभूति केवल लोकतान्त्रिक शासन व्यवस्थाले मात्र दिन सक्छ । प्रत्येक नागरिकको आधारभूत मानव अधिकारको प्रत्याभूति लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो सर्त हो । यस्ता अधिकारलाई जनताका मौलिक अधिकार भनिन्छ । कानुनले सम्पूर्ण नागरिकमाथि क्षेत्र, वर्ण, जात, धर्म लिङ्ग विचार वा यस्तै अन्य कुनै कारणले विभेद नगरी सबै जनतालाई समान व्यवहार गर्छ । विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हात-हतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रता, सङ्घ संस्था खोल्ने स्वतन्त्रता, मुलुकभर आवत जावत गर्ने र बसोबास गर्ने स्वतन्त्रता कुनै पेसा रोजगार, उद्योग/व्यापार गर्ने जस्ता स्वतन्त्रताका हक अधिकारहरू लोकतान्त्रिक शासन व्यवस्थामा जनतालाई दिइएका हुन्छन् । छापाखाना र प्रकाशनसम्बन्धी अधिकार, सूचना प्राप्त गर्ने अधिकार सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र बेचविखन गर्ने अधिकार, आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने अधिकार पनि जनताले पाउनुपर्ने अधिकार हुन् । धर्मसम्बन्धी हक, शोषण विरुद्धको हक र संवैधानिक उपचारको हक सम्बन्धी अधिकार पनि लोकतन्त्रमा जनताले प्राप्त गरेका हुन्छन् । लोकतान्त्रिक मुलुकमा जनताले यी आधारभूत मानव अधिकारको प्रत्याभूति गरेका हुन्छन् र त्यो प्रत्याभूति देशको मूल कानुन वा संविधानमा नै स्पष्टसँग उल्लेख गरिएको हुन्छ ।

प्रश्नहरू :

 (क) लोकतन्त्र र मानव अधिकारबिच कस्तो सम्बन्ध हुन्छ ?

(ख) लोकतान्त्रिक शासन व्यवस्थाको पहिलो सर्त के हो ?

 (ग) लोकतन्त्रमा जनताले कुन कुन क्षेत्रमा स्वतन्त्रता पाएका हुन्छन् ?

 (घ) जनताले लोकतन्त्रमा पाउनुपर्ने अधिकार के के हुन् ?

 (ङ) लोकतान्त्रिक मुलुकमा मानव अधिकारको प्रत्याभूति कसरी गरिएको हुन्छ ?

[5]
Asked on 2081 Exam
11.

सूचना र प्रविधिको विकास भएसँगै मानव जीवनलाई धेरै सहज र सजिलो भएको छ । यसले सबैभन्दा मुख्य कुरा समय र भौतिक दूरीलाई मेटाउँदै छ । यसबाट शिक्षा, सिप, ज्ञान र सूचना आदानप्रदान गर्न अति नै सजिलो भएको छ । विश्वभरि फैलिएको ज्ञानको भण्डारका रूपमा रहेका पुस्तक, पत्रिका आदिलाई क्षणभरमै हेर्न, पढ्न, छाप्न र सुन्न सम्भव भएको छ । यसले यातायातमा हुने खर्च र समयलाई बचाएको छ । कसैले व्यक्त गरेका विचार वा सन्देश तुरुन्तै विश्वभरि फैलाउन सकिने भएको छ । यसैका माध्यमबाट उद्योगी र व्यवसायीहरूले आफ्नो उत्पादन विश्वबजारमा पुऱ्याउन थालेका छन् । प्रविधिकै माध्यमबाट घरमै बसीबसी ग्राहकले खाद्य पदार्थलगायत विविध सामान सहजै प्राप्त गर्न सक्छन् । कुनै पनि ठाउँमा बसेर विश्वका जुनसुकै सामान पनि खरिद गर्न सकिन्छ । सूचना र प्रविधिको प्रयोगबाट सरकारले जनतालाई प्रभावकारी सेवा द्रुत गतिमा दिन सक्छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापार, उद्योगधन्दा, राज्य व्यवस्थापन सुशासन, आमसञ्चार, मानव स्रोतको विकास योजना तर्जुमा आदि अनेकौँ क्षेत्रमा सूचना र प्रविधिको प्रयोग गरी जनजीवनलाई सहज बनाउनेतर्फ उल्लेख्य उपलब्धि भएको पाइन्छ । सूचना र प्रविधिको सदुपयोगले मानव जीवनलाई सकारात्मक प्रभाव पार्दछ भने यसको दुरुपयोगले धेरै नकारात्मक असर पैदा गर्दछ ।

[2+3]
Asked on 2081 Exam
15.

 (क) दिएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 हामीले विकल्प खोज्नुपर्छ । सबैले उही काम गरेर हुँदैन । हाम्रा आवश्यकता असीमित छन् । तिनको परिपूर्तिका लागि विविधता आवश्यक हुन्छ तर नगर्नुभन्दा केही गर्नु राम्रो हो । 'देखासिखी गरी खा आरिसे मरी जा' भन्ने उखान पनि छ । जहाँसम्म हाम्रो जस्तो उद्योगको कुरा छ, त्यसमा भने अहिले कति पनि काम भएकै छैन । हामीले गरेका काम त हात्तीका मुखमा जिराजस्ता मात्रै हुन् । यस्ता हजारौँ उद्योग हुनुपर्छ । केही कुरामा भने हामीले ध्यान दिनैपर्छ । पहिलो कुरो हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ । त्यसो गर्न सके हामी जति उत्पादन त्यति धेरै फाइदाको अवस्थामा जान्छौँ ।

प्रश्नहरू :

(अ) उत्पादनमा किन विकल्प खोज्नुपरेको हो ?

 (आ) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?

[4]
Asked on 2080 Exam
19.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अव्यवस्थित तरिकाले वजनजङ्गल कटानी हुँदा भूक्षयको जोखिम बढ्न थालेको छ । सीमित व्यक्तिले सुटुक्क वनजङ्गल कटानी गरे पनि परिणाम सबैले भोग्नु परेको देख्दा म त छक्क पर्छु ।

(ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

हरेक व्यक्तिले आफ्नो जीवनलाई व्यवस्थित गर्न योजना बनाएर काम गर्ने हो भने जीवनमा अगाडि बढ्न कसैको गोडा मल्नु पर्दैन । कतिपय मानिसहरू भने समय छँदा कानमा तेल हालेर बस्ने अनि जब पर्यो राती तब बुढी ताती भनेझैँ अन्तिम समयमा आएर आत्तिने गर्दछन् । यस्ता मानिसहरू देख्दा मलाई भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिन्न भन्ने भनाइ सम्झना आउँछ ।

[2]
Asked on 2080 Exam
22.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण-प्रक्रिया देखाउनुहोस् :

 नैतिक पक्ष उच्च भएको मानिस साहसी हुन्छ । मर्यादित भएर काम गर्ने र अनुशासनलाई मानवीय आचरणका रूपमा मान्ने मानिसहरू पहिचान गरी सम्मान गर्नुपर्छ । शिक्षित र बौद्धिक व्यक्तिहरू मानिसको अभिभावक तथा गुरु भएर पथप्रदर्शक बन्न सक्नुपर्छ ।

(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी तिनको निर्माण-प्रक्रिया देखाउनुहोस् :

 पिताम्बर र नीलकण्ठले आ-आफ्नो बारीमा सयपत्री फूलको व्यवसाय गरेर घरखर्च चलाएका छन् । उनीहरूले बाबुआमासँग पनि यस कामका लागि आपसी सरसल्लाह गरेका थिए । ठुलाठुला सपना पूरा गर्नका लागि झैझगडा नगरीकन सङ्गठित प्रयत्न र आपसी मेलमिलापको खाँचो पर्दछ भन्ने कुरामा उनीहरू सचेत छन् ।

[3]
Asked on 2080 Exam
23.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरूको कारक पहिचान गरी तिनको नामसमेत लेख्नुहोस् :

आमा मामाघरमा गएपछि बुबाले मलाई खाना बनाउन लगाउनु भयो । मैले सम्पूर्ण परिवारका लागि खाना तयार पारेँ । चक्कुले तरकारी काट्दा हातमा पनि थोरै काटेको देखेर खाना बनाउने काम सोचेभन्दा कठिन रहेछ भन्ने मलाई महसुस भयो । अस्तिदेखि भान्साको काममा लाग्नु परेकाले मैले पढाइप्रति ध्यान दिन सकेको छैन ।

(ख) तलका एकवचनका वाक्यलाई बहुवचनमा परिवर्तन गरी लेख्नुहोस् :

उसले कृषि विषयक नयाँ प्रयोगशाला खोलेको रहेछ । मलाई पनि नयाँ कुरा सिक्ने रहर छ । तँलाई पनि सिक्ने रहर भए तँ र म सँगै सिकौँला । त्यसले त अस्तिदेखि नै सिक्ने काम सुरु गरेको रहेछ ।

[4]
Asked on 2080 Exam
25.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) तलका चारओटा जटिल वाक्यलाई आठओटा सरल वाक्य बनाएर लेख्नुहोस् :

मानिस सर्वश्रेष्ठ प्राणी हो त्यसैले उसले ज्ञान र विवेकको प्रयोग गर्नुपर्छ । जबसम्म हामीले आफूलाई नै चिन्दैनौँ तबसम्म हामी खुसी हुन सक्दैनौँ । अरूको सद्गुण ग्रहण गर्नु राम्रो हो तर कसैका कुराको अन्धानुकरण गर्ने प्रवृत्ति भने हानिकारक हो । धर्ती सबैको साझा फूलबारी हो भन्ने उदार भावना भएका मानिसहरू सहनशील हुन्छन् ।

(ख) तल दिइएका अप्रत्यक्ष कथनका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गरी लेख्नुहोस् :

चालकले बसभित्र चुरोट नखानुहोस् भनी आग्रह गरे । विद्यार्थीले म कक्षाभित्र आउन सक्छु भनेर शिक्षकसँग अनुमति माग्यो । चिकित्सकले बिरामीलाई आफ्नो स्वास्थ्यको नियमित परीक्षण गर्नुहोस् भनी सुझाव दिए । देश विकासका लागि युवावर्गमा नयाँ सोच आउनुपर्छ भनेर विज्ञहरू भन्छन् ।

[4]
Asked on 2080 Exam
26.

तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : 

आयुर्वेद पूर्वीय प्राचीन चिकित्सा पद्धति हो । 'आयुर्वेद' शब्दको अर्थ 'आयुको ज्ञान' भन्ने हुन्छ । यसलाई आयुर्विज्ञान पनि भनिन्छ । आयुको ज्ञान भन्नाले जीवनमा पूर्ण आयु जिउने विषय वा कलाको ज्ञान हो । पूर्ण आयु जिउन स्वास्थ्य पहिलो आवश्यकता हो । स्वस्थ व्यक्ति नै पूर्णायुको जीवन जिउँछ भन्ने आयुर्वेदको मान्यता हो । यसैले आयुर्वेदमा जीवन स्वस्थ राख्ने उपायका बारेमा विस्तृत रूपमा चर्चा गरिएको छ । जीवन स्वस्थ राख्नु भनेको सकभर शरीरमा रोगको प्रवेश हुन नदिनु हो र कदाचित् रोगको प्रवेश भइहाले पनि उपचारका माध्यमले शरीरबाट त्यसको निष्कासन गर्नु हो । आयुर्वेदमा रोगको उपचारका लागि कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, भूतविद्या, कौमारभृत्य, अगद तन्त्र, रसायन तन्त्र र बाजीकरण तन्त्र गरी आठ अङ्ग रहेका छन् ।

यीमध्ये कायचिकित्सामा शारीरिक रोग, शल्य तन्त्रमा चिरफार गर्नुपर्ने रोग, शालाक्य तन्त्रमा नाक, कान, घाँटी वा अन्य कुनै कारणले भएको टाउकाको रोग, भूतविद्यामा भूत, ग्रह वा मानसिक कमजोरीका कारण लागेको मानसिक रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ । यस्तै कौमारभृत्यमा गर्भवती स्त्रीलाई लाग्ने रोग र बालरोग, अगद तन्त्रमा शरीरमा विषालु पदार्थको प्रवेशका कारण उत्पन्न भएको रोग, रसायन तन्त्रमा वृद्धावस्थामा हुने रोग, बाजीकरण तन्त्रमा शरीरमा धातुको कमीका कारण हुने रोगको उपचारको पद्धति समाविष्ट छ । आयुर्वेदका अनुसार मुख्य रूपमा शरीरमा वात, पित्त र कफ यी त्रिदोषको असन्तुलनका कारण रोगको प्रवेश हुन्छ । यी तीन दोषबाट बच्ने मुख्य उपाय भनेको उचित आहार र उपयुक्त जीवनशैली नै हो ।

उपयुक्त आहार र जीवनशैलीबाट शरीरमा रोगसँग लड्ने ओज वा जीवनी शक्ति सशक्त रूपमा क्रियाशील बन्छ । जीवनी शक्तिको सशक्तता हुँदा शरीरमा रोगले प्रवेश नै गर्न पाउँदैन । कदाचित् प्रवेश गरिहाले पनि त्यो प्रभावहीन हुन्छ । प्रभावहीन त्यस रोगलाई पनि स्थानीय जडीबुटी र खनिजको उपयोग गरी शरीरबाट सहजै निष्कासन गर्न सकिन्छ । त्यसैले उचित आहार, उपयुक्त जीवनशैली र उपलब्ध स्थानीय जडीबुटीको सेवनबाट स्वस्थ रहेर पूर्णायुको जीवन जिउन सकिन्छ भन्ने कुराको मार्गनिर्देशन गर्ने चिकित्सा पद्धति नै आयुर्वेद हो ।

प्रश्नहरू :

(क) आयुर्वेदका आठ अङ्ग के के हुन् ?

(ख) कायचिकित्सा र शल्यतन्त्रमा कुन कुन रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ?

 (ग) शरीरमा रोगको प्रवेश हुनुको कारण के हो ?

(घ) आयुर्वेदले जीवनमा पूर्णायु जिउन के गर्नुपर्ने सुझाव दिएको छ ?

 (ङ) आयुर्वेदलाई आयुर्विज्ञान किन भनिएको हो ?

[5]
Asked on 2080 Exam
27.

तल दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी एक तृतीयांशमा सारांश लेख्नुहोस् : 

सिद्धार्थ गौतम परिवार र राज्य त्यागेर घरबाट निस्केका थिए । घरबाट निस्कँदा उनले मनमनै भने- “मलाई जीवनमा धनसम्पत्ति, राज्य केही चाहिँदैन । मैले रोग र शोकमाथि विजय प्राप्त गर्न सके पुग्छ ।” उनले प्रख्यात विद्वान्का कुरा सुने तर आफूले चिताएको कुरा नपाएकाले उनी सन्तुष्ट हुन सकेनन् । त्यसपछि उनी एकान्त ठाउँमा गएर तपस्या गर्न थाले । उनले जाडो भनेनन्, गर्मी मानेनन्, वर्षाको मतलब गरेनन् । हरेक समय उनले रुखमुनि स्थिर भएर तपस्या गरिरहे । कठोर साधना गरेकाले नै उनी ज्ञान प्राप्त गर्न सफल भए र बुद्धका नामले संसारभर चिनिए । कोही पनि व्यक्ति कठोर साधनाविना लक्ष्य प्राप्तिमा सफल हुन सक्दैन ।

[5]
Asked on 2080 Exam
31.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) दिइएको रिपोर्टाजको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

आजको युग प्रतिस्पर्धाको युग हो, एकाधिकारको होइन । हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौँ भने बजारको समस्या हुँदैन । विश्वव्यापीकरणको आजको युगमा नेपाली संसारभर छरिएर रहेका छन् । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादियुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौँ भने हाम्रा उत्पादन संसारभर बिक्ने छन् ।

प्रश्नहरू :

(अ) नेपाली उत्पादन संसारभर बिक्री गर्नका लागि के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

 (आ) प्रतिस्पर्धा थपिए पनि आत्तिनु पर्दैन किन भनिएको होला ? स्पष्ट पार्नुहोस् ।

(ख) तलको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउने गर्थे । उनले परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि र प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको बताएका छन् । उनले यसतर्फ समयमै सचेत हुन आग्रह गरेका छन् । यस्तै उनले मानिसलाई कृत्रिम बुद्धिमतापूर्ण रोबोटको निर्माणमा सचेत हुनुपर्ने बताएका छन् । कृत्रिम बुद्धिमतापूर्ण रोबोट मानिसको दिमागका उपज हुन् तर यिनीहरूको स्मरण र विश्लेषणात्मक सामर्थ्य मानिसको भन्दा धेरै हुँदै गइरहेको छ । मानिसले गर्न सक्ने सबै काम यी यन्त्रहरू सजिलै गर्न सक्छन् । त्यसैले उनी कृत्रिम बुद्धिमतालाई नियन्त्रण गर्नुपर्ने मान्यता बारम्बार दोहोऱ्याइरहन्थे ।

प्रश्नहरू :

(अ) पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारणहरू के के हुन् ?

(आ) हकिङले मानिसलाई किन कृत्रिम बुद्धिमतापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ?

[4]
Asked on 2083 Exam
36.
 कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : 
(क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
परपीडकहरू पेसाविहीन भएर डिच्च परेको बेला इमानदार नेपालीहरू भने स्वरोजगारीसहित आत्मनिर्भर भएकामा फुरुङ्ग थिए । उनीहरू थोरै पुँजी पनि साना उद्योगमा खुरुखुरु परिचालन गर्न सक्रिय बनेका थिए ।

(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
हुने विरुवाको चिल्लो पात बनेर ऊ सानैदेखि समाजमा अनुशासित व्यक्तिका रूपमा चिनिएको थियो । ठुलो भएपछि पनि ऊ सधैँ समाजमा नाक राख्नुपर्छ भन्दै दिन काट्न भेला भएका गाउँका मानिसलाई सद्भावसहित सल्लाह दिन्थ्यो । सल्लाह नसुनी कानमा तेल हालेर बसेकालाई ऊ खोलो तर्नु लौरो बिर्सनु गऱ्यो भने अन्ततः पीडा भोग्न बाध्य भइन्छ भन्दै सम्झाउँथ्यो ।
[2]
Asked on 2083 Exam
39.
 कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : 

(क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग र तीनओटा प्रत्यय लागेका शब्द टिपोट गर्नुहोस् र निर्माण प्रक्रिया देखाउनुहोस् :
गाउँले जीवनको सामाजिक व्यवहार देखेर उनी हर्षित थिइन् । अरूको उपकार गर्दै सबैप्रति सदिच्छा प्रकट गर्ने र कसैलाई अपमान नगर्ने गाउँलेहरूको बानी उनलाई अनुकरणीय लाग्थ्यो । त्यस्ता कार्य सहरमा पनि हुन थालेको पाएर उनी उत्साहित देखिन्थिन् । त्यसलाई मानवीय प्रगति मानेर रमाउनु उनको विशुद्ध व्यक्तिगत स्वभाव थियो ।

(ख) दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
आल्तुफाल्तु कुरामा चासो नदिई बुबाआमाले भनेको काम गर्नु सबैको कर्तव्य हो । रातदिन मिहिनेत गर्न सके मात्र जीवन अनमोल हुन्छ भन्ने विश्वास गर्नुपर्छ । हामी आफ्नो ठाउँलाई महत्त्व दिएर आआफ्नो पेसामा समर्पित भई कामकाज गर्नुपर्छ । दुईजिब्रे मानिसका कुरालाई वास्ता गर्दा दुख्खसुख पाइन्छ भने परिवारलाई मायाको त्रिवेणी ठानेर रमाउँदा भाग्योदयका ढोका खुला हुन्छन् भन्ने विश्वास गरिन्छ ।
[3]
Asked on 2083 Exam
43.
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : 

समाचार भन्नाले सामान्यतः हालखबर वा नयाँ घटनाको विवरण भन्ने बुझिन्छ । यसैले रेडियो, टिभी जस्ता श्रव्यदृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् । समाजमा घट्ने घटनाको विवरण भएकाले समाचार मानिसको पहुँचभित्रको विषय हो । जुन कुराले पाठक वा श्रोताको ध्यान आकर्षित गर्छ र नयाँ सूचना सम्प्रेषण गर्छ, त्यस्तो विषयवस्तु समाचार बन्दछ । समाचारलाई रोचक बनाउने भन्दैमा यथार्थलाई परित्याग गर्न चाहिँ पूर्णतः वर्जित छ । समाचार सम्प्रेषणमा संवाददाता पूरै तटस्थ रहनु राम्रो मानिन्छ । उसले आफ्नो राय, विचार वा निर्णयभन्दा घटना वा सूचनाको तथ्यपरक विवरण दिए मात्र पुग्छ । समाचारको उद्देश्य आम जनतासम्म सन्देश पुर्‍याउनु हो । यसैले समाचारको भाषा सकेसम्म सरल हुनुपर्छ । समाचारमा छोटा वाक्य प्रयोग गर्नु राम्रो मानिन्छ । यस्ता वाक्यमा अनावश्यक विशेषण वा क्रियाविशेषण प्रयोग गर्नु राम्रो मानिँदैन । यसैले समाचारको शैली विशिष्ट हुन्छ । यही शैलीगत वैशिष्ट्यकै आधारमा समाचारलाई घटनापरक, प्रक्रियापरक र विवरणपरक (फिचर) गरी तीन प्रकारमा वर्गीकरण गरिन्छ । घटनाप्रधान समाचार प्रायः दृश्य विवरणमा केन्द्रित हुन्छ । प्रक्रियापरक समाचारमा घटनाको सरसरती वर्णन मात्र नगरी तथ्यको विस्तृत व्याख्या, त्यसको पृष्ठभूमि र परिणामका बारेमा पनि उल्लेख गरिएको हुन्छ । विवरणपरक (फिचर) चाहिँ कुनै खास घटना वा तथ्यलाई कलात्मक बनाएर प्रस्तुत गरिन्छ । यसैले फिचर अन्य दुई किसिमका समाचारभन्दा बढी साहित्यिक हुने गर्छ । समग्रमा भन्दा सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता, स्पष्टता र मिठास समाचारका विशेषता हुन् ।

प्रश्नहरू

(क) कस्तो विषयवस्तु समाचार बन्न सक्छ ?
(ख) समाचारमा कस्तो भाषिक पक्षलाई ध्यान दिनुपर्छ ?
(ग) विवरणपरक (फिचर), घटनापरक र प्रक्रियापरक समाचारमा के भिन्नता छ ?
(घ) राम्रो समाचार बन्नका लागि के के चाहिन्छ ?
(ङ) उपर्युक्त अनुच्छेदको उपयुक्त शीर्षक के हुन सक्छ ?
[5]
Asked on 2083 Exam
44.

दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् : 

कुनै पनि देशको मुख्य परिचायक तत्त्व भनेको संस्कृति हो । नेपाल पनि आफ्नै मौलिक संस्कृतिका कारण विश्वमा सबैतिर चिनिएको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक देश हो । नेपालमा बसोबास गर्ने सबै जातिका आआफ्नै संस्कृति छन् । खस, नेवार, राई, गुरुङ, तामाङलगायत सबै जातिका आआफ्नै संस्कृति छन् । सर्वप्राचीन वैदिक संस्कृतिको आधारभूमि र संसारमै लोकप्रिय बनेको बौद्ध संस्कृतिको उद्गमस्थल नेपाल नै हो । नेपाली संस्कृतिमा म खाऊँ, म लाऊँको स्वार्थी भावना नभई सबै निरोगी र खुसी होऊन् अनि सम्मानपूर्वक बाँच्न पाऊन् भन्ने उच्च मानवीय भाव रहेको छ । नेपालमा रहेका सबै जातिका संस्कृतिको साझा विशेषता चाहिँ प्रकृतिलाई कुनै न कुनै रूपमा पूजा गर्नु हो । यस्तै आमाबुबा, पाहुना र गुरुलाई देवता मान्ने संस्कृति नेपालको साझा संस्कृति हो । राम्रो संस्कृतिका कारण नेपालीहरू समाजमा वन्दनीय, आदरणीय र स्मरणीय बनिरहेका छन् । उन्नत संस्कृति सूचक प्रगति सद्भाव हो । यसले मानिसमा सन्तुष्टि प्रदान गर्छ ।

[2+3]
Asked on 2083 Exam
48.
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : 

(क) दिइएका संवादांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

हेर घनश्याम, प्राकृतिक सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल र चरा मात्रै भनेर पुग्दैन । यहाँ असङ्ख्य पहाड, अन्नको भण्डार तराई, नदी, ताल, उपत्यका, सिमसार, जैविक विविधता आदि थुप्रै कुरा छन् । नेपाल आउने पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न आउने होइनन् नि । पर्यटनका पनि विभिन्न किसिम छन् भन्ने तिमीलाई थाहै छ । त्यसमध्ये सांस्कृतिक पर्यटन पनि त एक हो । नेपाल जस्तो सानो ठाउँमा सयौँ जाति, सयौँ भाषा, सयौँ संस्कृतिको अध्ययन गर्न पाउनु सांस्कृतिक पर्यटकको लागि ठुलो अवसर हो नि । त्यसैले नेपालको विविधतासँग पर्यटकको सरोकार हुने भएन र ?

प्रश्नहरू
(अ) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?
(आ) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?


(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
अक्षता हेरे झैँ पत्रिकाका फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोख्ले । आधाजति पुर्‍याएपछि राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेटियो । झोलाबाट खरानी निकाल्यो । मन्त्र फुकेर रेखा हाल्यो । त्यस भाइरसलाई उठाएर खरानीको घेराभित्र घेचायो । फेरि स्क्यान गर्न थाल्यो । स्क्यानिङ गर्न थालेपछि केही भाइरस भागेर कुना कुनामा पस्दा रहेछन् । करिब एक लाख फाइल स्क्यान गरेपछि पाँच थरीका भाइरस भेटियो । ती भाइरसले लगभग चार सय फाइलमा सङ्क्रमण गरेका थिए । थुप्रै फाइल मर्मत भए, मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोख्लेले डिलिट गर्न सुझाव दियो । पेशलले 'ओके' लेखेका ठाउँमा माउसको चुच्चो लगेर थिच्यो । भाइरसले बिगारेका र मर्मत हुन नसकेका फाइल जति स्वात्तै उडायो ।

प्रश्नहरू

(अ) 'भाइरसलाई उठाएर खरानीको घेराभित्र घेचायो' भन्नुको तात्पर्य के हो ?
(आ) गोख्लेले कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि गरेका क्रियाकलाप के के हुन् ?
   
[4]