Logo

तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : आयुर्वेद पूर्वीय प्राचीन चिकित्सा पद्धति हो । 'आयुर्वेद' शब्दको अर्थ 'आयुको ज्ञान' भन्ने…

Class 12 Nepali · 2080 · Solved Question with Answer

तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : 

आयुर्वेद पूर्वीय प्राचीन चिकित्सा पद्धति हो । 'आयुर्वेद' शब्दको अर्थ 'आयुको ज्ञान' भन्ने हुन्छ । यसलाई आयुर्विज्ञान पनि भनिन्छ । आयुको ज्ञान भन्नाले जीवनमा पूर्ण आयु जिउने विषय वा कलाको ज्ञान हो । पूर्ण आयु जिउन स्वास्थ्य पहिलो आवश्यकता हो । स्वस्थ व्यक्ति नै पूर्णायुको जीवन जिउँछ भन्ने आयुर्वेदको मान्यता हो । यसैले आयुर्वेदमा जीवन स्वस्थ राख्ने उपायका बारेमा विस्तृत रूपमा चर्चा गरिएको छ । जीवन स्वस्थ राख्नु भनेको सकभर शरीरमा रोगको प्रवेश हुन नदिनु हो र कदाचित् रोगको प्रवेश भइहाले पनि उपचारका माध्यमले शरीरबाट त्यसको निष्कासन गर्नु हो । आयुर्वेदमा रोगको उपचारका लागि कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, भूतविद्या, कौमारभृत्य, अगद तन्त्र, रसायन तन्त्र र बाजीकरण तन्त्र गरी आठ अङ्ग रहेका छन् ।

यीमध्ये कायचिकित्सामा शारीरिक रोग, शल्य तन्त्रमा चिरफार गर्नुपर्ने रोग, शालाक्य तन्त्रमा नाक, कान, घाँटी वा अन्य कुनै कारणले भएको टाउकाको रोग, भूतविद्यामा भूत, ग्रह वा मानसिक कमजोरीका कारण लागेको मानसिक रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ । यस्तै कौमारभृत्यमा गर्भवती स्त्रीलाई लाग्ने रोग र बालरोग, अगद तन्त्रमा शरीरमा विषालु पदार्थको प्रवेशका कारण उत्पन्न भएको रोग, रसायन तन्त्रमा वृद्धावस्थामा हुने रोग, बाजीकरण तन्त्रमा शरीरमा धातुको कमीका कारण हुने रोगको उपचारको पद्धति समाविष्ट छ । आयुर्वेदका अनुसार मुख्य रूपमा शरीरमा वात, पित्त र कफ यी त्रिदोषको असन्तुलनका कारण रोगको प्रवेश हुन्छ । यी तीन दोषबाट बच्ने मुख्य उपाय भनेको उचित आहार र उपयुक्त जीवनशैली नै हो ।

उपयुक्त आहार र जीवनशैलीबाट शरीरमा रोगसँग लड्ने ओज वा जीवनी शक्ति सशक्त रूपमा क्रियाशील बन्छ । जीवनी शक्तिको सशक्तता हुँदा शरीरमा रोगले प्रवेश नै गर्न पाउँदैन । कदाचित् प्रवेश गरिहाले पनि त्यो प्रभावहीन हुन्छ । प्रभावहीन त्यस रोगलाई पनि स्थानीय जडीबुटी र खनिजको उपयोग गरी शरीरबाट सहजै निष्कासन गर्न सकिन्छ । त्यसैले उचित आहार, उपयुक्त जीवनशैली र उपलब्ध स्थानीय जडीबुटीको सेवनबाट स्वस्थ रहेर पूर्णायुको जीवन जिउन सकिन्छ भन्ने कुराको मार्गनिर्देशन गर्ने चिकित्सा पद्धति नै आयुर्वेद हो ।

प्रश्नहरू :

(क) आयुर्वेदका आठ अङ्ग के के हुन् ?

(ख) कायचिकित्सा र शल्यतन्त्रमा कुन कुन रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ?

 (ग) शरीरमा रोगको प्रवेश हुनुको कारण के हो ?

(घ) आयुर्वेदले जीवनमा पूर्णायु जिउन के गर्नुपर्ने सुझाव दिएको छ ?

 (ङ) आयुर्वेदलाई आयुर्विज्ञान किन भनिएको हो ?

Solution

Please login to view the answer.