सूचना र प्रविधिको विकास भएसँगै मानव जीवनलाई धेरै सहज र सजिलो भएको छ । यसले सबैभन्दा मुख्य कुरा समय र भौतिक दूरीलाई मेटाउँदै छ । यसबाट शिक्षा, सिप,…
Class 12 Nepali · 2081 · Solved Question with Answer
सूचना र प्रविधिको विकास भएसँगै मानव जीवनलाई धेरै सहज र सजिलो भएको छ । यसले सबैभन्दा मुख्य कुरा समय र भौतिक दूरीलाई मेटाउँदै छ । यसबाट शिक्षा, सिप, ज्ञान र सूचना आदानप्रदान गर्न अति नै सजिलो भएको छ । विश्वभरि फैलिएको ज्ञानको भण्डारका रूपमा रहेका पुस्तक, पत्रिका आदिलाई क्षणभरमै हेर्न, पढ्न, छाप्न र सुन्न सम्भव भएको छ । यसले यातायातमा हुने खर्च र समयलाई बचाएको छ । कसैले व्यक्त गरेका विचार वा सन्देश तुरुन्तै विश्वभरि फैलाउन सकिने भएको छ । यसैका माध्यमबाट उद्योगी र व्यवसायीहरूले आफ्नो उत्पादन विश्वबजारमा पुऱ्याउन थालेका छन् । प्रविधिकै माध्यमबाट घरमै बसीबसी ग्राहकले खाद्य पदार्थलगायत विविध सामान सहजै प्राप्त गर्न सक्छन् । कुनै पनि ठाउँमा बसेर विश्वका जुनसुकै सामान पनि खरिद गर्न सकिन्छ । सूचना र प्रविधिको प्रयोगबाट सरकारले जनतालाई प्रभावकारी सेवा द्रुत गतिमा दिन सक्छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापार, उद्योगधन्दा, राज्य व्यवस्थापन सुशासन, आमसञ्चार, मानव स्रोतको विकास योजना तर्जुमा आदि अनेकौँ क्षेत्रमा सूचना र प्रविधिको प्रयोग गरी जनजीवनलाई सहज बनाउनेतर्फ उल्लेख्य उपलब्धि भएको पाइन्छ । सूचना र प्रविधिको सदुपयोगले मानव जीवनलाई सकारात्मक प्रभाव पार्दछ भने यसको दुरुपयोगले धेरै नकारात्मक असर पैदा गर्दछ ।
